हजुर म डुवर्स,
तपाईको प्यारो डुवार्स
टिस्टादेखि सुनकोशसम्म फैलिएको
हरिया चियाका बुट्टाले सजिएको
हजुर म तपाईको प्यारो डुवर्स,
शोषण र अत्यचारले पिल्सिएको
क्याक्टसको काँडा झैं बिझाइरहने
मुटुमा आफ्नै व्यथा बोकेको
हजुर म डुवर्स,
राजनैतिक ‘टग अफ वार ‘मा
आफ्नॊ चिनारी हराएको
जाति र माटोको लडाईमा आज
‘बार्गेनिङ्ग प्वाइन्ट ‘मात्रै बनेको
हजुर म डुवर्स,
रगतको खोला बगाएर
इतिहासबाट तिरस्कार पाएको
तरै पनि आशमा जिउने
प्यारासाइटको जीवन धान्ने
हजुर म डुवर्स,
डार्विनवादमा अल्झिएर
अस्तितवको लडाईमा सम्पूर्ण गुमाउने
हजुर म डुवर्स,
कञ्चनजंगामा घाम झुल्कँदा
मैदानहरु अन्धकारमा डुबेको देख्दा
पनि मौनधारण गरी शोक मनाउने
हजुर म डुवर्स,
हजुर म नै हो डुवर्स ।।